नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

नयाँ बानेश्वर, काठमाडौँ, नेपाल

In English

आप्रवासी श्रोत केन्द्रको काम र सेबाहरु


श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइ.ओ.एम.) को संयुक्त प्रयास र वैदेशिक रोजगार प्रवर्द्वन बोर्डको कृयाशीलतामा बोर्डको मातहत रहने गरी आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको छ । यस स्रोत केन्द्र २३ फेब्रुवरी २०१० मा माननीय श्रम तथा रोजगार मन्त्री श्री मोहम्मद आफताब आलमबाट उद्दघाटित भएको हो । स्थापना भएदेखि नै यस स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने वा जाने कामदारहरुलाई उचित परामर्श र सही सूचना उपलब्ध गराउँदै आएको छ ।
यस स्रोत केन्द्रले व्यक्तिगत तथा इमेलका माध्यमबाट परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । साथै व्यक्तिगत रुपमा उपस्थित हुननसक्ने तथा इमेलको पहुँच नभएका कामदारहरुको हित लाई ध्यानमा राखी टेलिफोनबाट समेत परामर्श सेवा दिने व्यवस्था गरिएको छ । आप्रवासनमा जान चाहने कामदारहरुको वैदेशिक रोजगार सम्बन्धी सही तथा भरपर्दो सूचनामाथिको पहुँच अभिवृद्धि गर्नका लागि स्रोत केन्द्रमा एक टोल फ्रि नं पनि जडान गरिएको छ । सूचना प्रवाहलाई टेलिफोनबाट प्रभावकारी रुपबाट संचालन गर्नका निम्ति केन्द्रले Auto Answering Machine को समेत व्यवस्था गरेको छ ।
वैदेशिक रोजगारीमा जाने क्रममा कामदारहरु विभिन्न कारणहरुबाट नठगिउन भन्ने उद्देश्यले यस स्रोत केन्द्रले वैदेशिक रोजगार सम्बन्धी सामान्य जानकारी उपलब्ध गराउँछ ।
सूचना संकलन का निम्ति आप्रवासी स्रोत केन्द्रले सम्बद्ध विभिन्न निकायहरु जस्तै सरकारी, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग संजाल स्थापना गरिरहेको छ । यस्तो संजालबाट स्रोत केन्द्रलाई अझ प्रभावकारी भूमिका निर्वाह गर्न मद्दत पुग्नेछ । भविष्यमा वैदेशिक रोजगारका क्षेत्रमा कार्य गर्ने सरोकारवाला संस्थाहरुसँग पनि संजाल स्थापना गरी नेपालका विभिन्न जिल्लाहरुबाट समेत आप्रवासी कामदारहरुलाई सामान्य जानकारीहरु प्रवाह गर्ने योजना रहेको छ ।
यस आप्रवासी स्रोत केन्द्र्रको मुख्य उद्देश्य नै वैदेशिक रोजगार प्रवर्द्वन बोर्डको निरन्तर सहयोग, मार्गदर्शन र निर्देशनमा रही सही सूचनाको माध्यमबाट वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनु हो ।
थप जानकारीको लागि
www.mrcnepal.gov.np